• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday

बागलुङ नगरपालिका–७ को वडा कार्यालय भवन उद्घाटन

  • २०८३ बैशाख ८, मंगलवार

बागलुङ । संघीयता आइसक्दा समेत भाडाको साँघुरो कोठाबाट वडा कार्यालयको सेवा दिदै आएको बागलुङ नगरपालिका–७ को वडा कार्यालयले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा दिन थालेको छ ।

लामो समयदेखि भाडाको साँघुरो कोठाबाट वडा कार्यालयको सेवा दिन असहज भएकाले बागलुङ नगरपालिकाकै लगानीमा वडा कार्यालय भवन निर्माण गरेर सेवा दिन थालिएको हो । बागलुङ नगरपालिकाको रु.४१ लाख ५० हजारको लागतमा तीन आर्थिक वर्ष लगाएर वडा कार्यालयको भवन निर्माण सम्पन्न गरेर सेवा दिन थालिएको हो ।

आफ्नै वडा कार्यालय भवनको अभावमा कालिमाटीबाट भाडाको घरबाट सेवा दिदै आएको वडा कार्यालयको भवन ढिकिचौर नजिकै स्थानीयले निःशुल्क दिएको जग्गामा निर्माण गरेर उद्घाटन गरिएको वडा अध्यक्ष मेघराज गैरेले जानकारी दिनुभयो । वडा कार्यालयको अभावमा सेवा प्रवाहमा समस्या भएकाले नगरस्तरीय योजनाबाटै वडा कार्यालय भवन निर्माण गरिएको गैरेले जानकारी दिनुभयो ।

२०७९ सालमा नगरपालिकाले विनियोजन गरेको रु. २५ लाख, २०८० सालमा रु.१५ लाख र २०८१ सालमा रु.एक लाख ५० हजार गरी जम्मा रु.४१ लाख ५० हजार लागतमा पाँचकोठे एक तला पक्की भवन निर्माण गरेर सेवा प्रदान गरिएको हो ।
“नगरपालिकाको १४ वटै वडामा आफ्नै वडा कार्यालय नभएको यही ७ नम्बर वडा थियो, भाडाको कोठाबाट सेवा प्रदान गर्दा समस्या भएपनि नगरकै लगानीमा वडा कार्यालय बन्यो” गैरेले भन्नुभयो “नयाँ भवनबाट सेवा प्रवाह गर्दा सहज भएको छ, नागरिकमैत्री सेवा प्रवाहमा आफ्नै भवनबाट सेवा दिदा सहज भएको छ ।”

वडा कार्यालय भवनको सोमबार बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले उद्घाटन गर्नुभएको छ । उद्घाटनपछि बोल्दै नगर प्रमुख श्रेष्ठले नगरकै बजेटबाट समेत ठूला पूर्वाधार बनाउन थालिएको बताउनुभयो ।
उहाँले १४ वटै वडा कार्यालय व्यवस्थित गर्ने र वडा कार्यालयसम्म पक्की सडक पु¥याउने योजना अनुसार सात नम्बर वडामा एकै पटक वडा कार्यालय, स्वास्थ्य चौकी भवन र पक्की सडक पु¥याएको जानकारी दिनुभयो । सात नम्बर वडा कार्यालय भवन, स्वास्थ्य चौकी भवन नभएको र सडक समेत पक्की नभएको अवस्थामा पछिल्लो एक वर्षमा तीन वटै पूर्वाधार निर्माण भएको उहाँको भनाई छ ।

“पछाडी परेको वडाको रुपमा सात नम्बर वडा चिनिन्थ्यो, अहिले सबैभन्दा स्तरीय कालोपत्र सडक, नयाँ स्वास्थ्य चौकी भवन र आफ्नै वडा कार्यालय बनेको छ” नगर प्रमुख श्रेष्ठले भन्नुभयो “नागरिकलाई सहज बनाउन उक्त वडामा एक घर एक धारा समेत वितरण भइरहेको छ ।” विश्व बैंकको अनुदानमा मुलपमानी कालिमाटी हुँदै तितौरे सडक निर्माण हालै सम्पन्न भएको छ भने कालीमाटी स्वास्थ्य चौकी भवन निर्माण सकिएर सेवा दिन थालिएको छ ।

वडा कार्यालय उद्घाटन कार्यक्रममा बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम वडा अध्यक्ष मेघराज गैरेको अध्यक्षता तथा नगरपालिकाका कर्मचारी हरी गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

  • २०८३ बैशाख ८, मंगलवार