बागलुङ । बागलुङमा आगामी फागुन २१ को प्रतिनिधीसभाको निर्वाचनलाई लक्षित गरी एक मतदानस्थल थप गरिएको छ भने दुई मतदानस्थल स्थानान्तरण गरिएको छ । सहज र सुरक्षित रुपमा सम्पन्न गर्न एक वटा मतदानस्थल थपिएको छ भने दुई वटा मतदानस्थल सारिएको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ । जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार मतदाताको बढ्दो संख्या, भौगोलिक चुनौती र पिछाडिएका बस्तीहरुमा पहुँच सहज बनाउन नयाँ मतदानस्थल थपिएको तथा मतदानस्थल सारिएको हो ।
जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख यज्ञ रिजालका अनुसार एक मतदानस्थल थपिएको र दुई मतदानस्थल स्थानान्तरणका लागि निर्वाचन आयोगमा पठाइएको छ ।
जसमा थपिएको मतदानस्थलमा बागलुङ जिल्लाको गलकोट नगरपालिका–११ रत्नलक्ष्मी माध्यामिक विद्यालय रिघाबाट आंशिक मतदाता सारेर मनेवा आधारभूत विद्यालयलाई मतदानस्थलका रुपमा थप गर्न सिफारिस गरिएको छ ।
रिघामा हाल रहेका दुई हजार ८०० मतदातामध्ये एक हजार १९० मतदातालाई मनेवा आविमा ल्याएर मतदानस्थलको रुपमा कायम गरिएको रिजालको भनाई छ । यस्तै बागलुङ नगरपालिकाको एक मतदान स्थल र बडिगाड गाउँपालिकाको एक मतदानस्थललाई पूर्वाधारको अभाव तथा भौगोलिक चुनौतिका कारण स्थानान्तरण गरिएको छ । जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार बागलुङ नगरपालिका–८ सिगानाको मतदानस्थल र बडिगाड गाउँपालिका–१० को मतदानस्थललाई पायक पर्ने स्थानमा स्थानान्तरण गरिएको छ ।
बागलुङ नगरपालिका–८ सिगाना वडा कार्यालयको मतदान केन्द्रलाई सिगाना स्वास्थ्यचौकीमा सारिएको छ । वडा कार्यालयमा मतदानस्थल साँघुरो भएकाले सारिएको हो । यस्तै बडिगाड गाउँपालिका–१० साविकको वडा कार्यालयमा भएको मतदानस्थल रनाम स्थित नयाँ वडा कार्यालयमा सारिएको निर्वाचन कार्यालय बागलुङका प्रमुख यज्ञ रिजालले बतानुभयो ।
सिफरिस गरिएको नयाँ मतदानस्थल र सारिएको मतदानस्थलको विषयमा आयोगको निर्णय भने आउन बाँकी रहेको छ ।
स्थानीयहरुले विशेषगरी भौगोलिक क्षेत्र, लामो हिडडुल दुरी, भीडभाड र सुरक्षाका व्यवस्था चुनौतीका कारण नयाँ मतदान केन्द्र थपिएको र स्थानान्तरण गरिएको हो । जिल्लाभरका मतदान स्थलमा केन्द्र कायम भने अन्तिम मतदाता नामावली आएपछि मतदाता संख्याको आधारमा कायम हुने छ ।
थपिएको मतदान स्थल स्विकृत भएमा यस अघिको निर्वाचनमा १०६ मतदात स्थल रहेकोमा बागलुङमा एक थपेर १०७ मतदानस्थल पुग्नेछ । गत निर्वाचनमा २३१ मतदान केन्द्र थिएभने बढेको मतदाता संख्याको आधारमा आयोगले केन्द्र समेत थपेर पठाउनेछ ।
सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी गत असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म मतदाता नामावली संकलन गरेको थियो । बागलुङ जिल्लामा यसभन्दा अगाडि एक लाख ८९ हजार १७३ जना मतदाता रहेकोमा अहिले पाँच हजार ९९३ मतदाता थपिएका छन् । बायोमेट्रिक विधिबाट कार्यालयमै आएर एक हजार ४६४ जना र राष्ट्रिय परिचयपत्रका आधारमा तीन हजार ९२९ गरी पाँच हजार ३९३ जना नयाँ मतदाता थपिएका छन् । १०० जनाको बाह्य दर्तासमेत गरेको बताउदै बागलुङ जिल्लाका लागि अन्य जिल्लाबाट बागलुङ मतदान गर्नका लागि दर्ता भएका मतदाताहरुको संख्या अध्यावधिक हुन भने बाँकी रहेको छ ।
